‘औषधि ढुवानी गर्ने काम चुनौतीपूर्ण’ (BBC.com)

तराईसँग जोडिएका भारतीय नाकाबाट औषधि ल्याउन व्यवसायीहरुले चर्को गाडी भाडा तिर्नुपरे पनि औषधिको मूल्य नबढ्ने बताएका छन्।

लामो समय नाकामा रोकिएका ‍औषधि भित्र्याउन अवैध रुपमा समेत पैसा तिर्नुपरेको उनीहरुको भनाई छ।

व्यवसायीहरुका अनुसार भैरहवा र विराटनगर नाकाबाट औषधि भित्र्याउन थालिएकाले अब बजारमा अत्यावश्यक औषधिको अभाव हुने छैन।

औषधिको अभावपूर्ति गर्न सरकारले पनि छरितो प्रक्रिया थालिसकेको छ।

‘महंगो ढुवानी’
व्यवसायीहरुका अनुसार औषधि भित्र्याउन एकातिर भारतमा अवैध रुपमा रकम दिनुपरेको छ भने गाडीको भाडा पनि विगतमा भन्दा निकै चर्को परेको छ।

त्यसले गर्दा अरु बेलाभन्दा ढुवानी महंगो हुन पुगेको छ।

तर नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले मूल्य भने बढ्न नदिने बताउँछन्।

उनले भने, “विभिन्न समस्या र ढुवानीमा बढी पैसा तिर्नुपरे पनि हामी मूल्य भने बढाउने पक्षमा छैनौं तर हामीले स्वास्थ मन्त्रालय औषधि व्यवस्था विभाग हाम्रो कार्यदललाई यसबारे जानकारी गराएका छौं।”

आन्दोलनरत मधेसी मोर्चाले औषधि ढुवानीका सहज बनाउने बताएपछि व्यवसायीहरुले भैरहवा र विराटनगर नाकाबाट औषधि ल्याउन थालेका हुन्।

ती नाकाबाट सामान ल्याउन थालिए पनि बाटोमा अवरोध भने भोग्नुपरेको व्यवसायीहरुको अनुभव छ।

हाहाकार
बजारमा औषधिको हाहाकार नभएपनि सुई लगायत केही औषधिहरुको भने अझै समस्या नै रहेको बताइन्छ।

तर अब औषधि अभावको चिन्ता केही हदसम्म टरेको स्वास्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले भने, “व्यवसायीहरुले विभिन्न तरिकाले औषधि लिएर आए, नत्र एकपटक त औषधि ठप्प जस्तै भइसकेको थियो।”

स्वास्थ मन्त्रालयले पनि द्रुत प्रक्रियाबाट औषधि किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ।

त्यस प्रक्रिया अनुसार दुई सातामा औषधि आइपुग्ने बताएको छ।

यद्धपि वीरगञ्ज नाका सहज नभएसम्म औषधि आपूर्ति पूर्ववत सहज हुन नसक्ने व्यवसायीहरु बताउँछन्।