औषधि व्यवसायी संघले गर्‍यो विधान संशोधन, प्रादेशिक संरचनामा जाने निर्णय

NCDA

नेपालगञ्ज– औषधि व्यवसायी संघले साविकको अञ्चल शाखालाई खारेज गर्दै प्रादेशिक संरचनासहितको विधान संशोधन गरेको छ।

संघको कात्तिक १० गते शनिबार नेपालगञ्जमा सम्पन्न साधारणसभाले आफ्ना संरचनालाई प्रादेशिक संरचनामा लैजाने निर्णण गर्दै विधान संशोधन गरेको हो।

संघका निवर्तमान अध्यक्ष एवम् विधान संशोधन समितिका संयोजक बाबुराम भट्टराईले संशोधित विधान अनुसार अब केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखा रहने व्यवस्था गरिएको जानकारी दिनुभयो। भट्टराईले भने, ‘देश संघीयतामा गइसकेकाले संघलाई पनि प्रादेशिक संरचनामा लैजान विधान सशोधन गरेका छौँ, अब जिल्ला शाखाका पदाधिकारीले प्रदेश समिति बनाउने, प्रदेश समितिले केन्द्रिय समिति बनाउनेछन्।’

संघले स्थापना भएको ४६ वर्षपछि आफ्नो विधान संशोधन गरेको हो । संघको पुरानो विधान अनुसार केन्द्रीय समिति, अञ्चल शाखा र जिल्ला उपशाखा रहने व्यवस्था थियो ।

सशोधन गरिएको विधान अनुसार केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाको कार्यकाल ३ वर्षको हुनेछ । एउटा केन्द्रीय समिति रहनुका साथै प्रदेश समिति सात वटा र जिल्ला शाखा ७७ वटा रहने बताइएको छ ।

केन्द्रीय समितिको निर्वाचन भएपछि नयाँ निर्वाचित कार्यसमितिले छ महिनाभित्रमा सात वटै प्रदेश समिति र ७७ वटै जिल्ला शाखाको निर्वाचन सम्पन्न गर्ने साधारणसभाले निर्णय गरेको छ ।

न्द्रीय समिति २८ सदस्यीय, प्रदेश समिति १९ सदस्यीय र जिल्ला कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था गरिएको भट्टराईले बताउनुभयो ।

सहभागी औषधि व्यवसायीले हालै जारी भएको नयाँ कानुनले औषधि व्यवसायीलाई अपराधी सरहको मान्यता दिएको र नयाँ कानुनले औषधी ब्यवसायीलाई अपराधीको संज्ञा दिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा देशभरका २ सय ३७ भन्दाबढी प्रतिनिधी सहभागी थिए।