सूचना संयन्त्र व्यवस्थित बनाउने हाम्रो पहल

DSC_2014

नेपाल औषधि व्यवसायी संघ औषधि व्यवसायीहरुको साझा संगठन हो । ४२ वर्षअघि काठमाडौंमा स्थापना भएको संघ अहिले १४ वटै अञ्चलमा पुगेको छ । संघका १३ अञ्चल शाखा, कर्णालीमा अञ्चल सम्पर्क समिति र ११ उपशाखा कार्यालय विस्तार भइसकेका छन् । कतिपय जिल्ला सम्पर्क समितिहरु पनि गठन भइसकेका छन् ।

४५ अर्बभन्दा बढीको कारोबार हुने औषधि व्यवसायले वृहत् रुप ग्रहण गरिसकेको छ । सरकारलाई बुझाउने राजश्व र रोजगारी सिर्जनालाईसमेत दृष्टिगत गर्ने हो भने औषधि व्यवसायको आकार अझै फैलदै गएको छ ।

देशभरका औषधि व्यवसायीलाई एक ठाउँमा ल्याएर एउटै छातामुनि उभ्याउने कामको संयोजन औषधि व्यवसायी संघले गरेको छ । सीप, दक्षता अभिवृद्धि र व्यवसायिक हक हितमा वर्षौं खर्चिएको औषधि व्यवसायी संघको इतिहासलाई नयाँ पुस्तासम्म पनि उचो राख्न वर्तमान केन्द्रीय कार्यसमितिले केही प्रयासहरु सुरु गरेको छ ।

केन्द्रीय कार्यसमितिले पहिलोपटक वेबसाइट उपसमिति गरेर न्यू मिडियाको प्रयोगलाई संस्थाको सञ्चार प्रणालीमा प्राथमिकता देखिएको स्पष्ट हुन्छ । वेबसाइट र बुलेटिन प्रकाशन उपसमितिमार्फत सञ्चार प्रणाली व्यवस्थितिकरणका काम हुनेछन् ।

संस्थाका सूचनाहरु अञ्चल, जिल्ला शाखा भित्रमात्र होइन आम व्यवसायीमाझमा एकैसाथ पुर्‍याउने अभियान मेरो नेतृत्वको वेबसाइट र बुलेटिन प्रकाशन उपसमितिले गर्ने जानकारी गराउन चाहन्छु ।

नयाँ स्वरुप र प्रविधिसहित सार्वजनिक भएको वेबसाइट पूर्णतः अत्याधुनिक रहेको जानकारी गराउन चाहन्छु । नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको वेबसाइटमा मल्टिमिडियाको प्रयोग भएको छ । टेक्स्ट, फोटो, अडियो, भिडियो, एनिमेसनको प्रयोग भएको छ ।

वेबसाइटलाई अन्तर्क्रियामुखी बनाउन आम व्यवसायी र पाठकले आफ्ना गुनासा वेबसाइटमार्फत नै पठाउन मिल्ने सुविधा उपलब्ध गराइएको छ ।

वेबसाइटमा अञ्चल र जिल्ला शाखाका अलग अलग सब–डोमेन बनाइएको छ । अञ्चल, जिल्ला शाखाका गतिविधिहरु त्यहीं प्रकाशन गरिन्छ भने केन्द्रका गतिविधिलाई होमपेजमा प्रकाशन गरिन्छ । यसबाट वेबसाइट नभएका शाखाका गतिविधिहरु बढीभन्दा बढी समावेश गर्न सकिने अपेक्षा लिएको छ ।

हाम्रा गतिविधिलाई थप व्यवस्थित बनाएर सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिनेछ । त्यसका लागि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको उपयोगलाई प्राथमिकता दिइएको छ ।

यसबाहेक हाम्रो बुलेटिलाई नियमित प्रकाशन गर्ने र त्यसको इपेपर वेबसाइटमा तुरुन्तै राख्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय कार्यालयका गतिविधिहरु, आगामी कार्यक्रमको सूची, सूचना पाटी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका केन्द्रीय कार्यालयका समाचारलाई पनि व्यवस्थित अभिलेखिकरण गर्ने व्यवस्था मिलाएका छौँ ।

आशा छ, वेबसाइट हाम्रा व्यवसायीहरुका लागि उपयोगी हुनेछ । तथापि, यो नै पूर्ण भने होइन । तपाईंहरुको सल्लाह र सुझावका आधारमा अझै अत्याधुनिक र प्रविधिमैत्री बनाउने हाम्रो प्रयास जारी नै रहनेछ ।

रामेश्वर श्रेष्ठ

संयोजक, वेबसाइट उपसमिति