बाढीपहिरो पीडितको राहत र उद्दारमा सहभागी हुन औषधि व्यवसायी संघको अपिल

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले देशैभरका आफ्ना सदस्यहरूलाई बाढीपहिरो पीडितको राहत र उद्दारमा सहभागी हुन अपिल गरेको छ ।

संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै संघमा आबद्ध औषधि व्यवसायी सदस्यहरुलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सक्रियतापूर्वक उद्दार र राहतको कार्यमा संलग्न हुन आहवान गरेका हुन् ।

“औषधि तथा जनस्वास्थ्यको क्षेत्रमा ५१ वर्षदेखि क्रियाशील नेपाल औषधि व्यवसायी संघ सरकार तथा सम्बन्धित निकायहरुसँग हातेमालो गर्दै जनस्वास्थ्यको रक्षाका लागि आवश्यक समन्वय, सहकार्य गरी सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही हप्तासम्म नेपालमा महसुन सक्रिय रहने भएकाले आवश्यक सतर्कता अपनाउन आम सर्वसाधारण समक्ष अपिल समेत गर्दछौं,” विज्ञप्तीमा उल्लेख छ ।

संघले केही दिनअघि देशको अधिकांश भूभागमा अत्यधिक र अप्रत्याशित वर्षाका कारण सिर्जित बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित भई जनधनको क्षति ब्यहोर्नु परेका सम्पूर्ण नेपालीप्रति नेपाल दुःख व्यक्त गरेको छ । संघले विषम परिस्थितिमा सम्पूर्ण प्रकोप पीडित परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ ।

संघले बाढी पहिरोमा हराएकाहरूको तीव्र खोजी, उद्दार, पीडित परिवारलाई राहत, आवासको उचित प्रबन्ध तथा घाइतेहरुको औषधि उपचारको सुनिश्चितता गरी थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारहरूले आवश्यक समन्वय र सहकार्यमा जोड दिएको छ ।

संघले बाढी पहिरोमा जीवन गुमाएकारहूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ ।