तेस्रो मुलुकमा उत्पादन भई भारतमार्फत नेपाल भित्रिने औषधिहरूको आयातमा भन्सार प्रक्रियाले अनावश्यक अवरोध सिर्जना गरिरहेको भन्दै नेपाल औषधि व्यवसायी संघले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीज्यूलाई ज्ञापनपत्र बुझाएको छ।
संघको प्रतिनिधिमण्डलले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर माननीय मन्त्रीज्यू समक्ष औपचारिक रूपमा उक्त ज्ञापनपत्र बुझाएको हो।
संघले औषधिको सहज, गुणस्तरीय र सर्वसुलभ आपूर्तिका लागि तेस्रो मुलुकका औषधिहरू भारतमार्फत आयात गर्न अनुमति दिइए पनि भन्सार विभागले ती औषधिहरूमा अनावश्यक झन्झट र कडाइ गर्दै आएको उल्लेख गर्दै आएको छ। संघका अनुसार यसले औषधि व्यवसायीहरूलाई अतिरिक्त आर्थिक भार मात्र होइन, आम नागरिकहरूलाई आवश्यक औषधि समयमै उपलब्ध गराउन कठिन परिस्थिति सिर्जना गरेको छ।
औषधिको आयात प्रक्रियामा देखिएको झन्झटप्रति ध्यानाकर्षण गराउँदै संघका निवर्तमान अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठ, उपाध्यक्ष (आयात) श्री रामचन्द्र शर्मा, महासचिव श्री श्रीधर खनाल, सदस्य (आयात) श्री सुनिल लखोटिया, मधेश प्रदेश महासचिव श्री पप्पु कुमार झा, तथा मधेश प्रदेश कोषाध्यक्ष श्री सुनिल कुमार लगायतका पदाधिकारीहरू ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका थिए।
ज्ञापनपत्र बुझ्दै माननीय मन्त्रीज्यूले औषधिको आपूर्तिलाई सहज बनाउन आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारको नीति तथा कार्यान्वयनमा समन्वयात्मक सुधार आवश्यक रहेको धारणा व्यक्त गर्दै छिट्टै आवश्यक पहल गरिने जानकारी दिनुभयो।
