काठमाडौं– नेपाल औषधि व्यवसायी संघ केन्द्रीय समितिले औषधि व्यवस्था विभागले रिजर्भ एन्टिबायोटिक अस्पताल फार्मेसीबाट मात्रै बिक्रीवितरण गर्न सक्ने परिपत्रको विरोध गरेको छ ।
संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । संघका अनुसार उक्त व्यवस्थाले सर्वसाधारण नागरिकलाई आवश्यक औषधि खरिद गर्न कठिनाइ उत्पन्न गर्नेछ । साथै, अस्पताल फार्मेसी नभएका दुर्गम क्षेत्रका बिरामीहरू सोझै प्रभावित हुने संघको ठहर छ ।
औषधि व्यवसायी संघले सरकारलाई सो नीति पुनरावलोकन गर्न आग्रह गर्दै आम उपभोक्ता र व्यवसायीहरूको चासोलाई मध्यनजर राखेर निर्णय गर्नुपर्ने बताएको छ ।
विभागका महानिर्देशक ढकालले व्यवसायीहरूको गुनासो सम्बोधन गर्न प्रयत्न गर्ने बताउनुभयो ।
