नेपाल औषधि व्यवसायी संघको पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतका विभिन्न शहरहरू समेटिएको नेटवर्किङ टुर (१७–२१ जनवरी २०२६) भव्य रूपमा सम्पन्न भएको छ। उक्त भ्रमणका क्रममा संघले भारतीय औषधि व्यवसायी संगठनहरूसँग व्यावसायिक सम्बन्ध विस्तार तथा सहकार्यका महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ।
यसैक्रममा, संघले १७ जनवरी २०२६ मा वेस्ट बंगालको कोलकातास्थित बंगाल केमिस्ट्स एन्ड ड्रगिस्ट्स एसोसिएसन तथा १९ जनवरी २०२६ मा ओडिशाको भुवनेश्वरस्थित उत्कल केमिस्ट्स एन्ड ड्रगिस्ट्स एसोसिएसन सँग दुवै संघबीच व्यावसायिक सम्बन्ध विस्तार, सहयोग, अनुभव आदान–प्रदान तथा आपसी हित अभिवृद्धिका विषयमा ऐतिहासिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।
उक्त समझदारीपत्रहरूमा नेपाल औषधि व्यवसायी संघको तर्फबाट केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल र केन्द्रीय महासचिव श्रीधर खनालले हस्ताक्षर गर्नुभएको छ ।
भ्रमणको सिलसिलामा संघको केन्द्रीय कार्यसमितिको ११ औँ तथा केन्द्रीय समितिको १७ औँ बैठक माघ ५, २०८२ मा भारतको धार्मिक तथा सांस्कृतिक नगरी जगन्नाथ पुरीमा भव्य रूपमा सम्पन्न भयो। यस अन्तर्राष्ट्रिय समन्वय र सहकार्यले नेपाली औषधि व्यवसायीहरूको अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध विकास, विस्तार तथा क्षमता अभिवृद्धिमा नयाँ आयाम थप्ने विश्वास संघले लिएको छ।
