नेपाल औषधि व्यवसायी संघ ५२ औं वर्षमा प्रवेश, अध्यक्ष र महासचिवद्वारा शुभकामना व्यक्त

काठमाडौँ- नेपालमा औषधि व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने सबैभन्दा पुरानो र सशक्त संस्था नेपाल औषधि व्यवसायी संघ (NCDA) आज आफ्नो गौरवमय ५१ वर्षे यात्रालाई पार गर्दै ५२ औं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा स्थापना दिवस भव्यरूपमा मनाइएको छ।

विसं २०३० मा स्थापित यो संघ हाल देशभरका हजारौं औषधि आयातकर्ता, थोक र खुद्रा व्यवसायीहरूलाई एक सूत्रमा बाँध्ने छाता संगठनको रूपमा परिचित छ। स्थापना दिवसको अवसरमा संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले केन्द्रीय कार्यसमितिको तर्फबाट शुभकामना वक्तव्य जारी गर्दै सबै तहका कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी, व्यवसायी, शुभेच्छुक र शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, पदाधिकारी तथा विभिन्न कालखण्डमा संघलाई नेतृत्व प्रदान गर्ने सबै अग्रजहरूको योगदानलाई स्मरण गर्दै वक्तव्यमा भनिएको छ, “संघको वर्तमान उचाइ विगतका योगदानहरूकै जगमा उभिएको हो।”

वक्तव्यमा संघले औषधि व्यवसाय तथा जनस्वास्थ्यप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै गुणस्तरीय, असरदार र सर्वसुलभ औषधि देशभर उपलब्ध गराउने कार्यमा आफू निरन्तर क्रियाशील रहेको उल्लेख गरिएको छ। साथै, संघले राष्ट्रिय औषधि नीति निर्माण, परिमार्जन तथा कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको तथ्य प्रस्तुत गरिएको छ।

अध्यक्ष खण्डेलवाल र महासचिव खनालले संयुक्त रूपमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “संघ स्थापना दिवस हामी सबैका लागि प्रेरणा र उत्साहको दिवस हो। यसले हामीलाई एकता, समर्पण र समन्वयको भावना झनै बलियो बनाउने विश्वास लिएका छौं।”

स्थापना दिवसका अवसरमा देशभरका व्यवसायी सदस्यहरूले आ–आफ्नो स्थानबाट उल्लासपूर्वक कार्यक्रम मनाएको जानकारी पनि प्राप्त भएको छ।

नेपाल औषधि व्यवसायी संघको यो लामो यात्रा औषधि व्यवसाय, उपभोक्ता अधिकार, व्यवसायी हित तथा समग्र स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा एक अनुकरणीय मिसालको रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरूले बताएका छन्।