औषधिको मूल्य-नीति सुझाव प्रतिवेदन खारेजीको मागसहित शान्तिपूर्ण मौन धर्ना

काठमाडौँ- औषधिको मूल्य र नीतिका सन्दर्भमा हालै सार्वजनिक भएको “औषधिको मूल्य-नीति सुझाव समिति”को प्रतिवेदन–२०८२ खारेज गर्न माग गर्दै आज देशभरका चार स्थानमा शान्तिपूर्ण मौन धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल औषधि व्यवसायी संघसहित १० वटा सरोकारवाला संघसंस्थाहरू सम्मिलित औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिको निर्णयअनुसार काठमाडौँस्थित औषधि व्यवस्था विभाग र यसको विराटनगर, वीरगञ्ज तथा नेपालगञ्ज शाखा कार्यालयको प्राङ्गणमा व्यवसायी तथा सरोकारवालाहरूको सहभागितामा विरोध कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरू मुखमा कालोपट्टी बाँधी मौन धर्नामा बसेका थिए। उनीहरूले औषधिको मूल्य निर्धारण सम्बन्धी प्रतिवेदन व्यवसायमैत्री नभएको, व्यावहारिक पक्षलाई बेवास्ता गरिएको तथा औषधि आपूर्तिमा गम्भीर असर पार्ने खालको भएको भन्दै उक्त प्रतिवेदन तुरुन्त खारेज गर्न माग गरेका छन्।

समितिका संयोजकहरूले औषधि व्यवसाय, स्वास्थ्य सेवा र स्वास्थ्य सामग्रीको आपूर्ति प्रणालीमा असर पुर्‍याउने नीति नभई दीर्घकालीन समाधान खोज्न सरकारले सरोकारवालासँग गम्भीर परामर्श गर्नु पर्नेमा जोड दिएका छन्।

शान्तिपूर्ण धर्ना कार्यक्रममा कुनै अवाञ्छित गतिविधि नभएको र विरोध कार्यक्रम सभ्य ढंगले सम्पन्न गरिएको आयोजकले जनाएका छन्।