नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

धुलिखेल, काभ्रेपलाञ्चोक — नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको चौथो वार्षिक साधारण सभा मिति २०८२ जेठ ३० र ३१ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा भव्यता र उत्साहका साथ सम्पन्न भएको छ।

जेठ ३० गते आयोजित उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवाल, महासचिव श्री श्रीधर खनाल, कोषाध्यक्ष श्री सम्राट मान जोशी, पूर्व केन्द्रीय उपाध्यक्ष एवं विशेष सल्लाहकार श्री प्रकाश मान प्रधान तथा परामर्श सल्लाहकार श्री पृथ्वीराज वैद्य लगायत संघका केन्द्रीय पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

बागमती प्रदेशभरिका औषधि व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको समारोहमा संघका केन्द्रीय अध्यक्ष खण्डेलवालले बागमती प्रदेशका औषधि व्यवसायीहरूका साझा हित, समस्याको समाधान र व्यवसायिक उन्नयनका विषयमा साधारण सभाले गहन छलफल गर्ने र महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास व्यक्त गर्दै सभाको सफलताको शुभकामना दिनुभएको थियो।

कार्यक्रममा महासचिव, कोषाध्यक्ष तथा विशिष्ट अतिथिहरूले पनि औषधि व्यवसायको वर्तमान चुनौती, अवसर र नीति–व्यवस्थापनका सन्दर्भमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

साधारण सभाको दोस्रो दिन अर्थात् जेठ ३१ गते संघको सांगठनिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको थियो। साथै, सदस्यहरूको तर्फबाट उठाइएका सुझाव तथा जिज्ञासाहरूको समेत सम्बोधन गरिँदै कार्यक्रम समापन गरिएको थियो।

नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशले आफ्नो चौथो वर्षको यात्रालाई सफलतापूर्वक पार गर्दै प्रदेशभर औषधि व्यवसायीहरूको हकहित, सशक्तिकरण र व्यवसायिक उत्तरदायित्वप्रति प्रतिबद्धता दोहोर्‍याएको छ।