भिटामिन र भिटामिन मिश्रित औषधिमा ५% मात्रै भन्सार महसुल लाग्ने व्यवस्था मिलाइएपछि नेपाल औषधि व्यवसायी संघद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ- नेपाल औषधि व्यवसायी संघले बिरामीको उपचारमा प्रयोग हुने (Therapeutic Dose) भिटामिन तथा भिटामिन मिश्रित औषधिमा साविक बमोजिम मात्र ५% भन्सार महसुल लाग्ने व्यवस्था मिलाउन सफल भएकोमा भन्सार विभागका महानिर्देशकज्यूलाई धन्यवाद ज्ञापन गरेको छ।

यसअघि नेपालमा औषधि विक्रीवितरण च्यानल मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता नभएकाले भिटामिनजन्य औषधिमा भन्सार कार्यालयहरूले १५% भन्सार महसुल र १३% मुल्य अभिवृद्धि कर (भ्याट) लागू गर्दा औषधिको बजार मूल्य अत्यधिक वृद्धि भई विक्रीवितरणमा समस्या देखिन थालेको थियो। यसले बजारमा औषधि अभावको जोखिम समेत सिर्जना गरेको थियो।

नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री प्रकाश कुमार खण्डेलवाल, निवर्तमान अध्यक्ष श्री मृगेन्द्र मेहर श्रेष्ठ, उपाध्यक्ष (आयात) श्री रामचन्द्र शर्मा, कोषाध्यक्ष श्री सम्राट मान जोशी, बागमती प्रदेश अध्यक्ष श्री ध्रुब नारायण श्रेष्ठ र ललितपुर जिल्ला शाखाका अध्यक्ष श्री ईन्द्र विर महर्जन लगायतको प्रतिनिधि मण्डलले बिहीबार त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालयमा पुगेर महानिर्देशकज्यूलाई धन्यवाद ज्ञापन गरेका छन्।

त्यसैगरी, प्रतिनिधिमण्डलले पूर्ववर्ती अवधिमा १५% भन्सार महसुल र १३% मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएकाले भन्सारमा रोकिएका भिटामिनजन्य औषधिका consignments छुटाउनका लागि बुझाइएको धरौटी रकम फिर्ता गराउने आवश्यक व्यवस्था र निर्देशन दिन महानिर्देशकज्यूसँग आग्रह गरेको छ।

नेपाल औषधि व्यवसायी संघले यो सकारात्मक निर्णयले देशमा औषधि आपूर्ति सहज हुने र बिरामीहरूलाई उचित मुल्यमा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।